गठबन्धनसँग चुनावी तालमेल गर्ने कांग्रेसकाे औपचारिक निर्णय

[sharethis-inline-buttons]

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढने औपचारिक निर्णय गरेको हो ।

पार्टीलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रीय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरुबीच तय गर्दै जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आम निर्वाचनमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष काँग्रेसले निकालेको छ ।

प्रवक्ता महतले भन्नुभयो, ‘बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको नेपाली काँग्रेसलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रिय कार्य समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गर्दछ । यसरी गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा तय गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रम को खाकासहित आम निर्वाचनमा नेपाली काँग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ । साथै तालमेल गरिरहँदा नेपाली काँग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थता, सांगठानिक बस्तुस्थिति तथा पार्टी पंक्ति एवम् शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ ।’

नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आचारसंहिता जारी गरी लागूगर्ने निर्णय पनि गरेको छ । केन्द्रीय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. महतले बताउनुभयो ।

बैठकले अवधि समाप्त भएर गठन हुन बाँकि रहेका र पूर्णता प्राप्त नगरेका पार्टीमा आवद्ध भातृ संघहरुलाई यही  श्रावण मसान्त भित्र गठन र पूर्णता दिने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टीको आगामी नीति महाधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि केन्द्रीय कार्य समितिलाई दिने निर्णय गरिएको प्रवक्ता महतले बताउनुभयो ।

नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रीय सदस्य श्यामकुमार घिमिरे संयोजक रहनु भएका केन्द्रिय लेखा समिति पनि गठन गरेको छ । ती समितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि केन्द्रीय कार्य समिति बैठकले गरेको प्रवक्ता महतले बताउनुभयो ।

बैठकले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा पार्टी नेतृत्वको गठबन्धन सरकारलाई धन्यवाद समेत व्यक्त गरेको छ ।


प्रकाशित : २०७९ श्रावण ५ बिहीबार