काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आम निर्वाचनमा पार्टी एक्लै लड्ने बताउनुभएको छ ।
आज बिहान प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभयो । तर आवश्यकताअनुसार कुनै पनि दलसँग तालमेल हुनसक्ने उहाँको भनाई थियो । पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभयो । नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताउदै संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको उहाँले बताउनुभयो । यस्तै, पोखरेलले गठबन्धन सरकार नालायक सावित भएको टिप्पणी समेत गर्नुभएको छ ।
सरकार मूल्यवृद्धितर्फ केन्द्रित भएको र जनताप्रति जिम्मेवार नबनेको बताउदै उहाँले सरकार नालायक र गैरजिम्मेवार बनेको आरोप लगाउनुभयो ।
यस्तै, प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने पनि उहाँले धारणा राख्नुभयो ।