साउने साेमवार : देशभरका शिवालयमा ब्रतालु भक्तजनकाे भीड

[sharethis-inline-buttons]

काठमाडौं । साउन महिनाको पहिलो सोमवार आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरि मनाउँदैछन् ।

विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउनको महिना र सोमवार भगवान् शिवको महिना एवम् बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवम् दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि विशेषगरी महिला भक्तजनको भीड लागेको छ ।

यस्तै देशभरका अन्य शिवालयमा पनि रातो एवम् हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले पतिको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमवारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । नेपाल पञ्चांग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार सुख, शान्ति एवम् समृद्धिका लागि साउन महिना र सोमवार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा उल्लेख छ ।

घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवम् पारिवारिक समृद्धिका लागि व्रतबसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा पाँच ओटा सोमवार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमवार परेको छ ।

पहिलोपटक साउने सोमवारको व्रत गर्नेले पाँच ओटा सोमवार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमवारको व्रत गर्नेहरुले अन्तिम सोमवार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।


प्रकाशित : २०७९ श्रावण २ सोमबार