काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाउनुभएको छ ।
महासचिव पोखरेलले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल सत्तारुढ गठबन्धनले निम्त्याएको आरोप लगाउनुभएको हो ।
आईतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उहाँले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारद्धारा सम्भव नभएको जिकीर समेत गर्नुभयो ।
महासचिव पोखरेलले मुलुकमा राजनीतिक धु्रबीकरणको आवश्यक्ता रहेको दोहोर्याउँदै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताउनुभयो ।
महासचिव पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कालोधनलाई सेतो बनाउन गरेको अपराधिक गतिविधिलाई रोक्न खोज्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास भईरहेको दाबी समेत गर्नुभयो ।