जसपा विवाद थप जटिल माेडमा, ६ दर्जन नेता तथा कार्यकर्ताद्वारा सामुहिक राजीनामा

[sharethis-inline-buttons]

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)मा विवाद झन्–झन् बढ्दै जान थालेको छ । वीरगञ्जमा बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ जनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झन् बढेको हो ।

यादव पक्षको सो निर्णयले भट्टराईलाई कारबाही गरेको भोलिपल्टै पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन् ।

पार्टी परित्याग गर्दै सामूहिक रुपमा उनीहरुले अध्यक्ष यादवले पार्टीलाई स्वेच्छाचारिता र एकलौटी ढंगले चलाएको आरोप लगाएका छन् ।

शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै सामूहिक पार्टि परित्याग गर्नुअगाडी जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पुँजी हुनेहरूको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको केन्द्रीय सदस्य वीरेन्द्र यादवले बताए ।

त्यस्तै,पार्टीलाई एकताबद्ध राख्न र विभाजनबाट जोगाउन आफूहरू लागि परेको दाबी गर्दै केन्द्रीय सदस्य टेकबहादुर शाक्यले केही व्यक्तिहरूको कारण पार्टी कमजोर बन्दै गएको र फुटको संघारमा पुगेको बताएका छन् ।


प्रकाशित : २०७९ असार ३२ शनिबार