फुटकाे संघारमा जसपा, भट्टराई र यादव आआफ्नै रणनीतिमा

[sharethis-inline-buttons]

जनता समाजवादी पार्टी (जसपा) फुटको औपचारिक घोषणाको निकट पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जसपाको दुई खेमालाई नेतृत्व गर्दै पार्टी फुटाउने तयारी भएको छ ।

दुवै नेताले आइतबार छुट्टाछुट्टै बैठक बोलाएपछि फुटले औपचारिक स्वरूप लिन लागेको हो । अध्यक्ष यादवले असार २९ र ३० गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् भने डा भट्टराईले त्यसभन्दा एक दिनअघि असार २८ र २९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बाेलाएका छन्। ।

यादवले वीरगञ्जमा बोलाएको बैठकमा पार्टीमा देखिएको मतभेदका विषयमा छलफल हुने जनाइएको छ । यससँगै स्थानीय तहको चुनाव समीक्षा र आगामी चुनावको तयारीका विषयमा छलफल हुने एजेन्डा छ ।

यसैगरी, भट्टराईले काठमाडौंमा बोलाएको बैठकमा समसायमिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डा छ ।

यससँगै पार्टीको आन्तरिक विवाद, स्थानीय चुनावको समीक्षा, र आगामी चुनावको तयारीबारे छलफल हुने पदाधिकारी र केन्द्रीय सदस्यलाई पठाएको पत्रमा उल्लेख छ ।भट्टराईले बोलाएको बैठकलाई भने यादव पक्षले गैरकानुनी भन्दै विरोध गरेको छ ।

जसपा केन्द्रीय कार्यालय प्रमुखले जारी गरेको विज्ञप्तिमा ‘केही अराजक एवं गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको भनेर भ्रम फैलाइएको बुझिन आएको’ उल्लेख छ ।

सतही रूपमा केनै समस्या नदेखिएकाे जसपामा भित्रभित्रै समस्याले उग्र रूप लिइसकेकाे यतिबेला देखिएकाे छ ।


प्रकाशित : २०७९ असार २७ सोमबार