रामेछाप बस दुर्घटना अपडेट : मृतक संख्या १२ पुग्यो, बसका चालक प्रहरी नियन्त्रणमा

[sharethis-inline-buttons]

काठमाडौं । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

खाँडादेवी गाउँपालिका १ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

बा ३ ख ८३९६ नम्बरको बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो। दुर्घटना हुँदा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल लगिएको थियो। चार जनालाई हेलिकप्टरबाट लगिएको थियो।

त्यसमध्ये थप तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा ६ वटा चौपाय पशु समेत मरेका छन्।

प्रहरीले बसका चालक दोलखाका प्रेमबहादुर घतानीलाई नियन्त्रणमा लिएको छ। उनले बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको बयान दिएको प्रहरी नायब उपरीक्षक थिङले बताउनुभयो । तर प्रारम्भिक अनुसन्धानमा ब्रेक लागेको जस्तो देखिने उहाँले जानकारी दिनुभयो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

मृतकहरूमध्ये आठ जनाको सनाखत भइसकेको छ ।


प्रकाशित : २०७९ असार २१ मंगलवार