दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै निर्माण गर्ने सहमति

[sharethis-inline-buttons]

काठमाडौं । राजधानीपछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बारा जिल्लाको निजगढमै बनाउन सत्ताधारी पाँचै दलका नेताले पुनः सहमति देखाएका छन् । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक नलगाएको बरु कडा शर्तमात्र राखेको फैसलाको पूर्णपाठले देखाएपछि कम क्षतिमा पूर्वनिर्धारित स्थानमै विमानस्थल बन्ने सहमति जुटेको हो ।

सर्वोच्चले विज्ञहरूबाट अध्ययन गराई न्यूनतम् वातावरणीय क्षति हुने स्थानमा विमानस्थल बनाउन परमादेश दिएपछि निजगढमा विमानस्थल नबन्ने भन्ने निष्कर्ष निकालिएकोमा फैसलाको पूर्णपाठमा ‘बढी वातावरणीय क्षति नगर’ भन्ने आशय मात्र रहेको देखिएपछि अर्थ उल्टिएको छ । असार १५ गते सर्वोच्चको फैसलाको पूर्ण पाठ आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु स्थल अवलोकनका लागि शनिबार निजगढ पुग्नुभएको छ ।

अवलोकनपछि प्रधानमन्त्री देउवाले यस विषयमा विज्ञहरूसँग छलफल भइरहेको बताउँदै भन्नुभयो, ‘कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौं ।’ उहाँले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै काम अघिबढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । गठबन्धन सरकारका प्रभावशाली नेता तथा नेकपा (माओवादी केन्द्रं) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलाले निजगढमा विमानस्थल बनाउन अवरोध नगरेको जिकिर गर्दै काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण सहितको कामहरू भइरहेको अवस्थामा निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको तर्क गर्नुभयो । विमानस्थल राष्ट्रिय गौरवको योजना भएको र अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश पनि नभएकाले काम पूर्ववत अघिबढ्ने प्रचण्डको भनाइ थियो ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि निजगढमा विमानस्थल बनाउन सरकार पछि नहट्ने बताउनुभयो । सर्वोच्चको फैसलाको पूर्ण पाठ आएसँगै निजगढका विषयमा देखिएको अन्योल हटेको बताउँदै नेपालले भन्नुभयो, ‘कुनै पनि विकास निर्माणमा क्षति हुनेगरेको छ । यसलाई कम क्षतिमा कसरी गर्न सकिन्छ त्यस आधारमा अघिबढ्नुपर्छ ।’ उहाँले पनि विज्ञहरूसँग सल्लाह गरेर प्राकृतिक स्रोत साधनको कम क्षतिसहित विमानस्थल बनाइने निष्कर्ष सुनाउनुभयो ।

जनता समावाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले विकास निर्माणका काम अघि बढाउनुपर्ने आजको आवश्यकता भएको जिकिर गर्दै निजगढमा रहेको पुरानो बस्तीलाई जोगाएर आयोजना अघि बढ्छ भन्नुभयो ।प्रधानमन्त्री सहितको शीर्ष नेताको टोली शनिबार निजगढ पुगेको थियो । यस टोलीमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री जीवनराम श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी सहभागी हुनुहुन्थ्यो ।

निजगढ विमानस्थलका विषयमा अहिलेसम्म भएका कामबारे मधेश प्रदेशका अर्थ मन्त्री विजय यादवले जानकारी दिंदै सुरु गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु निकै प्रसन्न देखिनुहुन्थ्यो ।प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँहरूले जसरी भए पनि निजगढमै विमानस्थल बनाउने कुरामा जोड दिनुभयो ।

निजगढ विमानस्थलविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार १२ गते अहिलेसम्म भएका सरकारी निर्णय बदर गरेको थियो । सरकारले अहिलेसम्म गरेका निर्णय त्रुटिपूर्ण रहेको सर्वोच्चको ठहर रहेकोमा उसकै फैसलाको पूर्णपाठले सरकारकै नेताहरुलाई प्रसन्न बनाएको छ ।
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वातावरणीय क्षति हुने भन्दै सरोकारवालाले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमाथि पूर्ण इजलासले गत १२ जेठमा दिएको फैसलामा दुई न्यायाधीशको राय बाझिएको थियो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माले निजगढमै विमानस्थल बनाउनुपर्ने राय दिनुभएको थियो भने न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतले विकल्प खोज्नुपर्ने आदेश दिनुभएको थियो ।

 


प्रकाशित : २०७९ असार १९ आईतवार