निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा, ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालनमा

[sharethis-inline-buttons]

काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५३ स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आयोगले बिहीवार देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय खोलेको हो ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सबै स्थानीय तहमा निर्वाचन कार्यालय खोलिएसँगै देश निर्वाचनमा होमिएको बताउनुभयो ।

यससँगै अब निर्वाचनको सम्बन्धमा किन्तु, परन्तु नहुने उहाँले स्पष्ट पार्नुभयो । सबै निर्वाचन कार्यालयहरुले आयोगले दिएको कार्यतालिका अनुसार काम शुरु गर्ने पनि उहाँले बताउनुभयो ।

आयुक्त भण्डारीले निर्वाचन आयोगले निर्वाचनका लागि गर्नुपर्ने व्यवस्थापनका सम्पूर्ण कामहरु पूरा गरिसकेको उल्लेख गर्नुभयो ।

आयुक्त भण्डारीले निर्वाचनको सम्बन्धमा कुनै प्रकारको सुरक्षा चुनौती नभएको बताउनुभयो । सरकारको सुरक्षा निकायले निर्वाचन सफल पार्नका लागि पूर्ण रुपमा सुरक्षाको प्रत्याभुति गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्वाचन सामग्रीहरु सबै स्थानीय तहहरुमा समयमै पुर्याउने उहाँले बताउनुभयो ।

सामग्री अभावका कारण निर्वाचन नरोकिने उहाँले प्रष्ट पार्नुभयो । उहाँले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन आयोग लागेको भन्दै सरोकारवाला सबैलाई आचारसंहिता पालना गर्न आग्रह पनि गर्नुभयो ।


प्रकाशित : २०७९ बैशाख ८ बिहीबार