काठमाडाैं । झन्डै दुई वर्षपछि सामान्य अवस्थामा फर्किएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट भेटिएपछि संक्रमण दर पुनः उकालो लागेको छ । अमेरिकाको न्युयोर्कमा कोरोनाको नँया सब भेरियन्ट भेटिएसँगै विश्व पुनः एक पटक कोरोना महामारीको चपेटामा पुग्न सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकाको न्युयोर्कमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट पत्ता लागेको छ । जसलाई बिए २.१२ र बिए.२.१२.१ नाम दिइएको छ । बिए २.१२ मा बिए.२ को २३ प्रतिशत र बिए.२.१२.१ मा २७ प्रतिशतभन्दा बढी उत्परिवर्तन भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
नयाँ देखिएका सब–भेरियन्टका कारणले नै न्युयोर्कमा कोरोना संक्रमण बढ्दै गएको अनुसन्धानले देखाएको छ । हाल अमेरिकामा ८० प्रतिशत संक्रमणको कारण बिए २ ओमिक्रोनलाई लिइएको छ । यी दुई सब–भेरियन्ट अमेरिकामा पहिलोपटक पहिचान गरिएका हो ।
अमेरिकामा नयाँ सब–भेरियन्टसँगै संक्रमणको जोखिम बढेकाले परीक्षणमा जोड दिन आग्रह गरेको छ । यसअघि बेलायतमा बिए १ र बिए २ को मिश्रण भएर आएको एक्स ई सब–भेरियन्ट पत्ता लागेको थियो । पछिल्लो समय बेलायतमा फैलिएका अन्य तीनवटा सब–भेरियन्टलाई हाइब्रिड भेरियन्ट भनिएको थियो ।
विश्व स्वास्थ्य संगठनले पुनः संक्रमण बढ्न थाल्नुले विश्व फेरि महामारीले आक्रान्त हुन सक्ने जनाएको छ । ओमिक्रोनमा लगातार उत्परिवर्तनका कारण नयाँ सब–भेरियन्ट फैलिन थालेपछि डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।
हाल भारत, चीन, बेलायत, अमेरिका, दक्षिण कोरिया, भियतनाम, इटाली, जर्मनी, फ्रान्सलगायतका देशमा संक्रमण बढिरहेको छ । त्यस्तै भारतका केही स्थानमा पनि कोभिड संक्रमण बढ्न थालेको छ । भारतमा जुनसुकै घटना घटे पनि त्यसको प्रभाव नेपालमा पर्ने हुँदा नेपाल पनि सर्तक हुन जरुरी छ ।
भारतमा नयाँ भेरियन्टका कारण संक्रमण बढेमा नेपालमा पनि त्यसको प्रभाव पर्ने हुनाले नेपाल पनि डराउनुपर्ने अवस्थामा रहेको विज्ञहरु बताउँछन् । काेरोनाको लहर न्यून भए तापनि स्वास्थ्यका मापदण्ड पालना गर्न अनिवार्य रहेको हँदा सबैले पालना गर्न सरकारले अनुरोध गरेको छ । अनिवार्य मास्कको प्रयोग, परीक्षण र पूर्ण खोपमा बढावा दिए नयाँ भेरियन्ट पनि आफै कमजोर भएर जाने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।