बालकको मृत्यु प्रकरणलाई लिएर बिपी राजमार्ग अवरुद्ध, दाेषीलाई कारबाही गर्न माग

[sharethis-inline-buttons]

सिन्धुली । बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् ।

स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।

राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए । पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पुर्याएको उनले बताए ।

पीडित पक्षलाई बोलाई छलफल गरी सहमतिबाटै राजमार्ग खोल्ने प्रयास भइरहेको उनकाे भनाइ छ ।

शनिबार फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय सृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । हाल कमलामाई नगरपालिका–५ मिलनचोकमा बस्दै आएका सृयास साथीसँग पौडी खेल्न खोला गएकामा खोलामा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको थियो ।


प्रकाशित : २०७९ बैशाख ४ आईतवार