काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ।
साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ।
सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्ति पत्र दिइसकिएको छ।
आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत बनाएको छ।
आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ।
अब वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्नेछन्। अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले चुनावसम्बन्धी काम गर्ने आयोगले जनाएको छ।
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम छ।