७५३ वटै पालिकामा प्रतिनिधि पठाउन निर्देशन दिने कांग्रेस निर्वाचन परिचालन समितिको निर्णय

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले ७५३ वटै पालिकाहरुमा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।

सहमहामन्त्रीहरुलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा पठाइने पनि उहाँले बताउनुभयो ।

त्यसैगरी, स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।उपसमितिहरुमा भातृ संघ समन्वय एवम् परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवम् परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवम् परिचालन, अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिहरु रहेको उहाँले बताउनुभयो ।

पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए, नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो ।


प्रकाशित : २०७९ बैशाख ३ शनिबार