महोत्तरी गर्भवती महिला हत्या प्रकरण : श्रीमानले साथीहरुसँग मिलेर गरे हत्या

[sharethis-inline-buttons]

महोत्तरी : महोत्तरीको सागरनाथ जंगलभित्र मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरी फालिएको पाइएको छ । हत्यामा संलग्न भएको आरोपमा मृतकका श्रीमान् अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

५ दिन अगाडी गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडी पहिचान खुल्न नसकेकी मृत महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कसरी हत्या भयो ?

मृतक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा २ वर्ष अगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसँग भेट भयो ।

अजय र राधाको नजिकपन बढ्दै गएपछि उनीहरूको सम्बन्ध प्रेम सम्बन्धमा रूपान्तरण भयो । उनीहरूले प्रेमसमबन्ध लाई २ वर्ष अगाडि मात्र विवाहमा परिणत गराएका थिए ।

राधाको अजयसँग दोस्रो विवाह हो । २ वर्ष अगाडि नै राधाको पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी तनावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो ।

उनका पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो ।

पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरूको पालन पोषणको सर्तमा हत्या आरोपित दोस्रो श्रीमान् अजय साहले दुई वर्ष अगाडि विवाह गरे । नेपालमा बसेर काम गरे पनि अजय र मृतक राधाको माइती भारतको सितामाढी नै हो ।

अजयले प्रहरीलाई दिएको बयान अनुसार राधाले अजयलाई उनको घर भारतको विहार प्रदेशस्थित सितामाढी लैजान निक्कै कर गरिन् ।

अजयले राधालाई घर लिएर गए । तर उनीहरूको सम्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरू पुन; जब सर्लाही नै फर्किए ।

सर्लाहीस्थित मलङगवामा कोठा भाडामा लिएर बसेका उनीहरूको दैनिक जेनतेन चलिरहेको थियो। राधाले श्रीमान् अजयलाई कोट म्यारिज गर्न, अधिकार दिन दबाब दिइन् ।

अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाई तनाव दिन थालिन् । तुरुन्त अधिकार नदिलाए जवर्जस्ती करणीको मुद्दामा फसाउने समेत धम्की दिएपछि अजयले त्यो तनाव झेल्न नै सकेनन् ।

कसरी भयो हत्याको योजना ?

अजयको अनुसार ७ महिनाको गर्भवती समेत रहेकी राधाले निक्कै तनाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने ।

साथीभाइ कै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनबाट नै पन्छाउने योजना बुन्दै गए । लामो छलफलपछि अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एक जनाले हत्याको योजना बताए । प्रमोदले महोत्तरीको सागरनाथ जङ्गलमा लैजाने र त्यही हत्या गर्ने सुझाएपछि अजय र उनका सहयोगी पनि तयार भए ।

२ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछि राधा पनि निक्कै खुसी भइन् । श्रीमान् अजय महतोले पहिलो आफूसँग विवाह गरे आउनु अघिका २ छोराहरूलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एक जना सहयोगी पुरुष पछि-पछि थिए ।

उनीहरूले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घाटीमा तीन फन्को बाँधे । दुवै जनाले राधालाई समाएर कन्चट र छातीमा लात्ता हाने । त्यसपछि पेटमा लाताले हानेर हत्या गरेपछि उनीहरूले रेल्वे ट्र्याक वाट २ सय मिटर अगाडि ल्याएर शव छाडेर भागे ।

अभियुक्त कसरी पक्राउ परे ?

महिलाको घाटीमा नीलडाम र शरीरका विभिन्न भागहरूमा चोटपटक देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै हत्या नै भएको निष्कर्षमा पुगेको थियो ।

अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निक्कै सहज बन्यो । दुई बच्चा मध्य एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछि प्रहरीले त्यसलाई पनि आधार बनायो ।

प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरूलाई आधार बनाएर महोत्तरीको प्रहरी मात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो । इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान विभाग र प्रदेशका प्रहरीले घटनालाई सूक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका श्रीमान् तर्फ मोडियो ।

त्यसको ५ दिनपछि भारतीय प्रहरीको सहयोग नेपाल प्रहरीले हत्याको आरोपित अजय महतो र प्रमोद राउतलाई भारतको सितामाढीबाट पक्राउ गरेको छ भने हत्यामा संलग्न एक जना अझै फरार छन् ।

मङ्गलवार बेलुका महोत्तरीको गौशाला-११ स्थित सागरनाथ जङ्गल नजिकैको पसलमा बेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृतक महिलाको नै भएको पुष्टि भएको छ ।

उनीहरू महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरूलाई अभिभावकको जिम्मा लगाउने प्रहरीले तयारी गरेको छ । उनीहरूलाई महिलासँगै ल्याएको भए पनि हत्या गर्ने योजना नभएको हत्या आरोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् । अहिले बच्चाहरू स्थानीय दिनेश महतोको आश्रयमा छन् ।


प्रकाशित : २०७८ फाल्गुन ९ सोमबार