नेपाल बैंक लहान शाखाबाट निकालेको हजारको नोट नक्कली !

[sharethis-inline-buttons]

सिरहा : नेपाल बैंक लिमिटेड लहान शाखाबाट निकालेको एक हजारको एउटा नोट नक्कली फेला परेको छ । नवराजपुर गाउँपालिका घर भएका पत्रकार जयनाथ यादवले बैंकबाट ३७ हजार रुपैयाँ निकालेका थिए ।

जसमा एउटा हजारको नोट नक्कली रहेको उनले बताएका छन् । ‘माघ २३ गते सरस्वती पूजाको दिन बैंकबाट रुपैयाँ निकालेको थिएँ’, उनले भने, ‘केही खर्च भयो र बाँकी घरमै राखेको थिएँ । हिजो गाडीको भन्सार काट्न गएको बेला एक हजारको नोट नक्कली भएको थाहा पाएँ ।’

उनका अनुसार हजार रुपैयाँको उक्त नोटको रंग समेत फरक छ । नोट नक्कली जस्तो लागेपछि सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीलाई जानकारी गराएको उनको भनाइ छ । बैंकबाटै निकालेको रुपैयाँ नक्कली हुनु गम्भीर विषय भएको सुरक्षा अधिकारी बताउँछन् ।

बैंक प्रमुख सुरेन्द्र यादवले आवश्यक छानबिन गर्ने बताए । उनले भने- बैंकमा दैनिक करोडौंको कारोबार हुन्छ । त्यसैले जसमा नक्कली रुपैयाँ गएको छ, ती व्यक्ति आएपछि सीसी क्यामेरा शर्च गर्छौं । कसको काउन्टरबाट यस्तो त्रुटि भएको छ ।

उनले सात महिना अगाडि पनि नक्कली नोट फेला परेको बताए । नोट फेला परेपछि राष्ट्रिय बाणिज्य बैंकमा बुझाउने गरेको र आवश्यक छानबिनसमेत हुने गरेको उनको भनाइ छ ।


प्रकाशित : २०७८ फाल्गुन ९ सोमबार