काठमाण्डौ । सत्तारुढ पाँच दलीय गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सहमति गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बताए। यादवले भने, “गठबन्धनमा सहमति भएको छ। आज संसद्मा टेबल हुन्छ।”
एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए। उनीहरूले यस विषयमा संसद्मै छलफल गर्न उपयुक्त हुने निश्कर्ष निकालेका हुन्।
आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको एमसीसी सम्झौतलाई प्रतिनिधि सभामा टेबल गर्ने कार्यसूची तय गर्ने भएको छ।