
पर्सा – पर्सामा रहेको हुलाकी सडकखण्डअन्तर्गत शुक्रबार दिउँसो घुम्ती चिया पसलमा चिया खाँदै गरेको अवस्थामा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
ठक्करबाट तीन जना घाइते भएका छन्। पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना ७ त ५३७८ नम्बरको ट्र्याक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिलाई ठक्कर दिएको थियो।
ट्र्याक्टरको ठक्करबाट पसलमा चिया खाइरहेका सखुवा प्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्करको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्र्याक्टरको ठक्करबाट पसलका साहु सोही स्थानका सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटांैडा बस्ने रामकुमार तामाङ घाइते भएका छन्।
तीनै जनाको उपचार नारायणी अस्पतालमा भइरहेको तथा शवलाई पोस्टमार्टमका लागि राखिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। ट्र्याक्टर चालक भने फरार भएको तथा उनको खोजी भइरहेको उनले बताए।