राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका १ मा वसोवास गर्ने स्थानीयले साँढे आतंकबाट पिडीत भएको भन्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीयले संयुक्त हस्ताक्षर गरेर वडाअध्यक्ष इब्राहिम मंसुरी मार्फत बुधवार प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र मार्फत आतंक मचाउने साँढेलाई स्थानान्तरण गरिदिनु पर्ने माग गरिएको छ ।
आफु सप्तरी आएपछि पहिलो पटक यस्तो खाले ज्ञापनपत्र आएको प्रमुख जिल्ला अधिकारी गौतमले सुनाए । यद्धपी उनले स्थानीयवासीको पिडालाई बुझी आफुले उक्त साँढेको उचित व्यवस्थापनका लागी पहल गर्ने आश्वासन दिएका थिए ।
उनले तत्कालै पशु कार्यालय,प्रहरी,स्थानीय तहका प्रमुख र कोशी टप्पु बन्य जन्तु आरक्ष प्रशासनका प्रमुखसंग फोन सम्पर्क गरी उक्त साँढेलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल गरेका छन् । वडाअध्यक्ष मंसुरीले विगत केही दिन यता गाउँमा कृषिजन्य वस्तु, खाद्यान्य, नगदेबाली र फलफुल सखाप गरिदिने गरेको साँढेले हाल कतिपय सर्वसाधारणमाथी आक्रमण गर्दै घाईते समेत बनाउन थाले पछि बाली र वडावासीलाई जोगाउन सिडिओसंग सहयोग माग्न आएको बताए ।
उनले एउटा साँढेको आतंकले पुरै वडावासी पिडीत भएकाले त्यसलाई समाएर कोशी टप्पु बन्यजन्तु आरक्ष वा अन्य कुनै सुरक्षित स्थानमा व्यवस्थापन गर्न अनुरोध सहित ज्ञापन पत्र बुझाइएको र छिट्टै आतंकबाट मुक्ती पाउने विश्वास समेत व्यक्त गरे ।