निजगढ विमानस्थल निर्माणको काम चाँडै सुरु हुन्छ : माधवकुमार नेपाल

[sharethis-inline-buttons]

बारा : एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चाडै सुरु गरिनु पर्ने बताउनु भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ टाङियाबस्तीमा मंगलबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीमा लैजाने योजना थियो, निजगढमै बनाउन आफूले पहल गरेको बताउनुभयो ।

यसै गरी अध्यक्ष नेपालले निजगढमा विमानस्थल निर्माण गरिए सबै क्षेत्रका नागरिकलाई सहज हुने भएकाले यो परियोजना चाँडो सुरुआत गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै अध्यक्ष नेपालले अहिले सरकारमा समावेश भएका आफ्ना पार्टीका मन्त्रीहरूको बदनाम गराउनका लागि विभिन्न तत्त्वहरू लागि परेकाले त्यस्ता तत्त्वहरूबाट बच्न तथा मन्त्रीहरूले पनि आफ्ना बोली भाषामा सावधानी अपनाउन र मिठास बोली प्रयोग गर्न आग्रह गर्नुभयो ।

राम्रो काम गर्ने मान्छेलाई बद्नामित गराउन खोज्नेहरू आफै नाङ्गिएर जाने अध्यक्ष नेपालको भनाइ थियो ।सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री रामचन्द्र पौडेलले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि निर्माण गरिनु पर्ने धारणा राख्नुभयो ।

 


प्रकाशित : २०७८ फाल्गुन ४ बुधबार