सप्तरीमा नेपाली कांग्रेसको सभापति पदका लागि ६ जना आकांक्षी देखिए

[sharethis-inline-buttons]

सप्तरी – सप्तरीमा नेपाली कांग्रेसको सभापति पदका लागि ६ जना आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट चार र इतर पक्षबाट दुई जना सभापतिमा आकांक्षी छन् ।

संस्थापनबाट शत्रुधन यादव, नन्दकिशोर यादव, भगवती यादव र रामप्रसाद मण्डलले दाबेदारी पेस गरेका छन् । संस्थापन इतर पक्षबाट रामदेव साह र रामकुमार यादव सभापतिको आकांक्षी छन् ।

जिल्लामा देउवा समूहको नेतृत्व गरिरहेका हालका सभापति तथा केन्द्रीय सदस्य दिनेश यादवले शत्रुधन यादवको नाम जिल्ला सभापतिमा अगाडि सारेका हुन् । शत्रुधन अहिले जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि हुन् ।

आफ्नो विश्वासिलो भएकाले जिल्ला सभापति यादवले शत्रुधनलाई संस्थापन पक्षबाट उम्मेदवार बनाउने तयारी गरेका छन् । तर, शत्रुधनलाई मात्र जिल्ला सभापतिको उम्मेदवार बनाउनेमा संस्थापन पक्षमै एकमत छैन ।

संस्थापन समूहमै रहेका महाधिवेशन प्रतिनिधिहरू भगवती, नन्दकिशोर र रामप्रसादले पनि सभापतिमा संस्थापन पक्षबाट आफूहरू उम्मेदवार हुनुपर्ने अडान लिएका छन्, जसका कारण संस्थापन पक्षबाट एकमात्र साझा उम्मेदवार तय हुन समस्या छ ।

संस्थापन पक्षबाट एकमात्र उम्मेदवार हुन नसके त्यसको फाइदा लिने दाउमा संस्थापन इतर पक्ष छ । यद्यपि, संस्थापनको मत विभाजन भई आफूहरूलाई फाइदा हुने सोचेका इतर पक्षका दुई उम्मेदवारबीच नै प्रतिस्पर्धा छ ।

आकांक्षीहरूले नेता तथा कार्यकर्ताका बीच आआफ्नो समूहमा छलफल सुरु गरेका छन् । यसअघि स्थगित भएको जिल्लाको कांग्रेस अधिवेशन फागुन १३ मा हुँदै छ ।


प्रकाशित : २०७८ फाल्गुन ४ बुधबार