मधेश सरकारको चार वर्षको उपलब्धि

[sharethis-inline-buttons]

जनकपुरधाम – मधेश प्रदेश सरकारले चार वर्ष पुरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले मुख्य उपलब्धिहरु गनाएका छन् । मुख्यमन्त्री राउतले चार वर्षको मुख्य उपलब्धिमा भारती प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण लगायतका वैदेशिक उच्च स्तरका भम्रणहरुलाई राखेका हुन् ।

मंगलबार मधेश भवनमा चौथो वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले यस चार वर्षको अवसरमा प्राप्त राजनैतिक उपलब्धिको रक्षा, सुदृढिकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका महत्वपूर्ण योजनाहरु बेटी पढाउ बेटी बचाउ अभियान, शहिदको सम्मान, किसानको ऋणको ब्याज भुक्तानी प्रयोजनको लागि अनुदान, ६४ निर्वाचन क्षेत्रमा सडक कालोपत्रे, तीन वटा विश्वबिद्यालयको स्थापना लगायतका कार्यलाई आफ्नो उपलब्धिमा गनाएका हुन् ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारको स्थापनाको चारवर्षमा ४४ वटा ऐन, कार्यविधि, नियमावली, निर्देशिकाहरु बनाएर अगाडी बढेको, प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको, सिमित कर्मचारीको सहयोगभा विभिन्न मन्त्रालयमा नीति तथा कार्यक्रम, बनाएको योजनाहरुको कार्यान्वयन गरेको बताए ।

चार वर्षमा मधेश सरकारले आठ वटै जिल्लाका विभिन्न स्थानहरुमा ६० वटा बर्थिङ सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, ३ वटा योग भवन, २ शिशु सदन, २० खेल मैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रंगशाला, ३ कभर्ड हल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ वालगृह, २ शौचालय निर्माण गरेको र ३१ वटा विद्यालय भवन र २ बृध्दाश्रम भवनको मर्मत संभार तथा स्तरोन्नति गरेको जनाएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तर्फ ६४ वटै निर्वाचन क्षेत्रमा ५ कि.मि. सडक कालोपत्रे गर्नका लागि बोलपत्र सूचना प्रकाशन गरेकोलाई समेत प्रदेश सरकारले आफ्नो उपलब्धिको रुपमा गनाएको छ ।

चर वर्षमा करिब २२५ कि.मि.माटो सडक, ९३७ कि.मि.ग्राभेल सडक, २२४ कि.मि.कालोपत्रे सडक र २३७ कि.मि.ढलान सडक निर्माण, २९२ कल्भर्ट र ३२ पुल निर्माण सम्पन्न गरेको, करिब ३५ कि.मि.नाला निर्माण र ३ झुलुङ्गे पुल, सिंचाईतर्फ ३४ हेडबक्स निर्माण, १७४ कि.मि.कच्ची नहर निर्माण, २९ कि.मि.पक्की नहर निर्माण र ७८ कि.मि.तटबन्ध निर्माण गरेको, ८ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण, ५३ कि.मि.बस्ती संरक्षण र २६ कि.मि.घाट निर्माण गरेको जनाएको छ । त्यस्तै ९ वटा सरकारी भवन, ९७ वटा सामुदायिक भवन २३ वटा धर्मशाला र जनता आवास कार्यक्रम अन्तर्गत ९ हजार ४५ वटा घर बनाएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले हरित प्रदेश अभियान अन्तर्गत आठ वटै जिल्लामा ३७७.४ हेक्टर वृक्षारोपण गरेको, प्रत्येक जिल्लामा हाईटेक वन नर्सरी स्थापना गरी १ करोड ४० लाख ८८ हजार ८८७ गोटा विरुवा उत्पादन कार्य भई वृक्षारोपण तथा निजी जग्गाधनी वितरण गरेको जनाएको छ ।

त्यस्तै सञ्चार क्षेत्रमा सूचना तथा सञ्चार क्षेत्रको विकासका लागी आम सञ्चार प्राधिकरण, चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्ड र मिडिया काउन्सिल स्थापना र राससका पत्रकारहरुलाई अभिमूखीकरण तालिम प्रदान तथा सलहेस वृतचित्र निर्माण गर्नुलाई उपलब्धिको रुपमा प्रदेश सरकारले गनाएको छ ।

 


प्रकाशित : २०७८ फाल्गुन ३ मंगलवार