
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर अस्पताल अस्तव्यस्त बनेको छ । स्वास्थ्य विभागले जिम्मेबार डाक्टर नपठाउँदा चन्द्रनिगाहपुर अस्पताल अस्तव्यस्त बनेको हो । परीक्षणका लागि आएका विद्यार्थी करारका डाक्टर संदिपकुमार साहलाई चन्द्रनिगाहपुर अस्पतालको प्रमुख बनाएपछि अहिले झन अस्तव्यस्त बनेको हो ।
कुनै समय बिहान ९ बजेदेखि बेलुका ७ बजे सम्म सेवाग्राहीको भीड लाग्ने अस्पतालमा अहिले नागरिक सरकारी अस्पताल जान छाडेका छन् । तत्कालीन डाक्टर अभिमन्यु श्रीवास्तब प्रमुख हुँदा उक्त अस्पतालमा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म बिरामीको लाम लाग्ने गरेको थियो । अहिले आएर उक्त अस्पतालबाट आम नागरिकले समान्य सेवा समेत पाउन छाडेका छन् ।
अस्पतालमा रहेको एक्सरे मेसिन बिग्रेको तीन वर्ष बित्न लाग्दा समेत अस्पातलमा एक्सरे मेसिन आउन सकेको छैन । तीन वर्षदेखि एक्सरे चलाउने प्राविधिकले कामै नगरी मासिक रूपमा तलव बुझ्दै आएका छन् । एक्सरे मसिन चलाउने जिम्मेवारी पाएका दिपेन्द्र झाले विगत लामो समयदेखि कामै नगरी तलव भत्ता बुझ्दै आएका छन् ।
चन्द्रनिगाहपुर सरकारी अस्पताल रिफर अस्पतालका रूपमा परिणत हुँदै आएको छ । अस्पतालाको अवस्था दयनीय बन्दै गएको भए पनि जनप्रतिनिधिले कुनै चासो नदिएको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा तथा युवा समाजसेवी नरेश लामिछाने बताए । अस्पतालको प्रमुखको जिम्मेवारी पाएका डाक्टर साह आफंै निजी अस्पतालतिर धाउन व्यस्त छन् ।
छात्रवृत्तिमा आएका प्रशिक्षार्थी डाक्टर सञ्जिवकुमार साह सरकारी अस्पतालमा नबसेर प्रायः चन्द्रनिगाहपुरका अधिकांश निजी अस्पतालमा भेटिन्छन् । उनको नेमप्लेट चन्द्रनिगाहपुर सबै जसो अस्पतालमा देखिन्छ । चन्द्रनिगाहपुर सरकारी अस्पतालबाट बिमा गराएकाले समेत औषधी पाउन छाडेको चन्द्रपुर नगरपालिका–८ का अच्युत हुमागाईंले गुनासो गरे ।
अस्पताल व्यवस्थापन समितिले करारमा कार्यरत डाक्टर साहलाई बैंक खाता सञ्चालनको जिम्मा समेत दिइएको छ । उक्त अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगर प्रमुख रामचन्द्र चौधरी हुन् । यति मात्रै नभएर डा. साहले कुनै पनि कर्मचारीसँग सल्लाह नगरी आफ्नो मनपरि तरिकाले कर्मचारीको काम विभाजन गरेको समेत सो अस्पतालमा कार्यरत कर्मचारीले बताएका छन् ।