
काठमाडाैं : लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर-जयनगर रेल सेवा आइतबारदेखि ड्राइरनका रूपमा सञ्चालनमा आएको छ ।
उद्घाटन नहुन्जेल यात्रीलाई चढाइँदैन तर रेल नियमित समयमा चलिरहन्छ । प्राविधिक रूपमा कुनै समस्या पछि नहोस् भन्ने कुरालाई ध्यानमा राखी ड्राइरनका रूपमा रेल चलाइएको नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झाले बताए।
रेल सञ्चालनको समय पटकपटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भइरहेको जयनगर-विजलपुर-बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर-जनकपुरधामसम्म ३२ किलोमिटर रेल सञ्चालन भएको छ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रेलको फागुन महिनामै उद्घाटन गर्ने तयारी भइरहेको छ ।
रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए।
विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरू लगाइसकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए।
कात्तिक ५ गतेमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्रयाक, हल्ट, स्टेसन, कर्मचारीका लागि आवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मा लगाएका थिए । तर, त्यसको केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।
नेपाल सरकारले बोगिसहितको दुईवटा रेल खरिद गरेको भन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो ।