सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

[sharethis-inline-buttons]

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष एमाले सहभागी नहुने भएको छ।

सभामुख सापकोटाले आज (सोमबार) दिउँसो २ बजे संसद् सचिवालयमा बस्नेगरी बोलाएको बैठकमा एमाले नजाने भएको हो। बैठकका विषयमा आफूहरूसँग कुनै सरसल्लाह नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

‘हामीसँग कुनै सरसल्लाह गरिएको छैन। सभामुखले यसअघि बोलाएका कुनैपनि बैठकमा हामी सहभागी भएका छैनौं। आज पनि हुँदैनौं’, भट्टराईले भने।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्‌मा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेस संयोजक श्रीधर न्यौपानेको भनाइ छ। ‘समसायिक विषयमा छलफल गर्न सभामुखज्यूले बैठक बोलाउनुभएको हो,’ न्यौपानेले भने।

आइतबार सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता गरेका छन्।

 

अर्कोतिर, गत भदौदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। एमसीसीसँगको सम्झौतालाई सदनबाट अनुमोदन गर्ने विषयमा पनि दलहरु विभाजित छन्। यस्तो बेलामा सभामुखले बोलाएको सर्वदलीय बैठकलाई अर्थपूर्ण ढंगले हेरिएको छ।


प्रकाशित : २०७८ फाल्गुन २ सोमबार