नेपाली कामदार इजरायल पठाउन प्रक्रिया सुरु

[sharethis-inline-buttons]

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरुमा नेपाली सहायक कामदारहरूको रुपमा जान सम्झौता पत्रमा हस्ताक्षर गर्ने काम सुरु भएको छ । छनौट भएकामध्ये ५ सय ५४ जना कामदारले सम्झौता पत्र हस्ताक्षर गरेका वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार पहिलो चरणमा २ सय २९, दोस्रो चरणमा १ सय ६७ र तेस्रो चरणमा १ सय ५८ जनाले सम्झौता पत्रमाा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा हस्ताक्षर भएको ३० दिन भित्र इजरायल जानुपर्ने प्रावधान छ । तर कोरोनाको खोप लगाएको १ सय ८० दिन कटे फेरि अतिरिक्त खोप लगाएर पठाउनुपर्ने भएकाले केही ढिला भएको विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले बताउनुभयो ।

विभागले कोरोनाको पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्रसहित सम्झौता पत्रमा हस्ताक्षर गर्न मङ्सिर २९ गते पहिलो चरणको सूचना जारी गरेको थियो । इजरायल जान चाहने कामदार छनोटमा अनियमितता भएको भन्दै परेको रिटका सर्वाेच्च अदालतले विभागलाई कारण देखाउ आदेश जारी गरेको थियो । त्यसमा विभागले कारणसहितको विवरण पेश गरिसकेको छ तर प्रकृया रोक्न कुनै पनि अन्तरिम आदेश जारी भएको छैन ।


प्रकाशित : २०७८ पुष १२ सोमबार