
काठमाडौं । कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ओमिक्रोन यसअघिको भेरियन्टहरुभन्दा कम घातक भएको पाइएको छ । बेलायतमा गरिएको अध्ययनले ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको देखाएको बीबीसीले जनाएको छ ।
प्रारम्भिक नतिजाले कोरोनाको अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन पुष्टि भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना भएका देखाएको छ । तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने भन्दै अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन् । यो नतिजा उत्साहजनक भएपनि सचेत भने हुनुपर्नेमा उनीहरुको जोड छ ।
यस्तै बेलायतमै भएको अर्को अध्ययनले मौसमी फ्लूसँग कोरोनाको लक्षण मिल्ने भएकाले सचेत हुन सुझाव दिएको छन् । बेलायतमा गरिएको अध्ययनले घाँटी दुख्नु, नाकमा सिगान बग्नु र टाउको दुख्नु जस्ता लक्षण देखिए कोरोना हुनसक्ने देखाएको हो । तर अनुमानितभन्दा झण्डै आधा मानिसले चिसोका कारण हुने समस्या भनेर बस्दा कोरोना भएको पाइएको अध्ययनले देखाएको छ ।
इक्वेडरले कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य गर्ने निर्णय गरेको छ । कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन फैलन नदिन आफ्ना सबै नागरिकलाई अनिवार्य खोप लगाउने निर्णय गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।