काठमाडौं । नेकपा एमाले र प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा बीचको दूरी बढ्दै गएको छ । जसका कारण संसद बैठकमा असर परेको मात्रै छैन, हाल रहेको सत्ता गठबन्धनमा नै असर पर्न सक्ने त्रास रहेको पनि टिप्पणी सुरु भएको छ । एमालेले सभामुख सापकोटालाइ कि गल्ति सच्याउन नभए राजीनामा दिन बारम्बार चेतावनी दिदै आइरहेको छ ।
यस्तो अवस्थामा एमालेले सभामुखसँगको असन्तुष्टिकै कारण सत्ता गठबन्धनमा चलखेल गर्न सक्ने आशंकामा सत्ता पक्षीय दलका नेताहरु रहेका छन् । एमालेले आफ्नो पार्टीले निस्कासन गरेका सांसदहरुको हकमा तुरुन्त कदम चाल्न आग्रह गरेको छ ।
सभामुख सापकोटाले भने अदालतमा विचाराधीन मुद्धाको न्याय निरुपणमा प्रतिकूल असर पर्ने गरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
सभामुख सापकोटाले अदालतमा विचाराधिन मुद्धाका विषयमा संसदमा छलफल गर्न नपाउने संवैधानिक प्रबन्ध रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दल एमालेलाई सचेत पनि गराउनुभएको थियो । उहाँले नागरिकता, संघीय निजामती कर्मचारी ऐन लगायतका महत्वपूर्ण विधेयकहरु अघि बढाउन पनि बैठक सुरु गर्नुको बिकल्प नभएको बताउनुभएको थियो ।