काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री, हिमाली भेगमा हिमपातको सम्भावना

[sharethis-inline-buttons]

काठमाडौं । आजपनि देशका हिमाली भू–भागमा हिमपताको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको हुँदा पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने बताएको छ । महाशाखाले बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने पनि बताएको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आजराति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । महाशाखाले तराईका भू–भागमा बिहानको समयमा हुसु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच आज बिहान काठमाडौंको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान ६ बजे काठमाडौंमा ३ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । हिजो बिहान ६ बजे काठमाडौंमा ३ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । आज दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ती कँणेलले बताउनुभयो ।


प्रकाशित : २०७८ पुष ६ मंगलवार