
काठमाडौं – २२ वर्षदेखि बन्द सरकारी स्वामित्वको कम्पनी जनकपुर चुरोट कारखाना पुन: संचालनमा आउने भएको छ । त्यसका लागि आवश्यक अध्ययन गर्न अर्थमन्त्रालयले समिति बनाएको छ ।
कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले जानकारी दिए । उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केशी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको छ । समितिले तत्काल संचालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ ।
यही पुस २५ गते कम्पनीको साधारणसभा बोलाइएको छ । संचालक समितिको पुस २ गतेको बैठकले २०५६/०५७ देखि आर्थिक वर्ष २०७६/०७७ सम्मको विषयहरू पारित गर्ने र नयाँ विषयहरू पारित गर्न साधारणसभा आव्हान गरिएको कम्पनीका लागि मन्त्रालयले तोकेको प्रतिनिधि लीलाराज काफ्लेले बताए ।
साधारणसभापछि कम्पनी अद्यावधिक गरी काम अघि बढाइने समेत उनको भनाइ छ । हाल अध्यक्षरमहाप्रबन्धक दुवैको जिम्मेवारी सरकारले सहसचिव चन्द्राकला पौडेललाई तोकिएको छ ।
यस कारखानाबाट सुरूमा वार्षिक २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो । विशेषगरी देउराली, याक र गैँडा उत्पादन गर्ने यस कारखानामा सुरूआतमा ३ सय ६६ जनाले रोजगारी पाएका थिए ।