
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आइतबार अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। संघीय संसद्मा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाइएको हो ।
बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुनेछ । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संघीय संसदमा लगातार अवरोध गर्दै आइरहेको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी , जनता समाजवादी पार्टी , लोकतान्त्रिक समाजवादी पार्टी , राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बोलाइएको छ।
भदौ २२ गतेदेखि प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । एमालले गत भदौ १ गते माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामुखलाई दिएको थियो। नेकपा एमालेले भने बैठक बहिस्कार गर्ने भएको छ ।