
काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनाको अन्तिम परिणाम आउँदा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका हुन् । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । थापाले सबैभन्दा बढी ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । त्यस्तै, १९८४ मत ल्याउँदै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए ।
प्रकाशशरण महत १५५० मतसहित तेस्रो स्थानमा रहे । प्रदीप पौडेल भने १४०९ मतसहित चौथो स्थानमा रहे। त्यस्तै मीनेन्द्र रिजालले ८०९ मत प्राप्त गरे । त्यस्तै राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।