
काठमाडौं । बेलायतमा एकैदिन अहिलेसम्मकै धेरै ७८ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोरोना महामारी सुरु भएयता बेलायतमा हिजो एकैदिन अहिलेसम्म कै धेरै ७८ हजार ६ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो दर अझै बढ्ने भन्दै सचेत हुन त्यहाँका स्वास्थ्यविज्ञले अपील गरेका बीबीसीले जनाएको छ ।
यसअघि गत वर्षको जनावरी ८ मा बेलायतमा सबैभन्दा धेरै ६८ हजार ५३ जनामा कोरोना पुष्टि भएको थियो । त्यतिबेला बेलायत लकडाउनमा थियो । बेलायतमा अहिलेसम्म १ करोड १० लाख १० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।
जसमध्ये ९६ लाख १७ हजार सङ्क्रमित निको हुँदा १ लाख ४६ हजारको भने मृत्यु भएको छ । त्यहाँ हिजो १ सय ६५ जनाको मृत्यु हुँदा ४३ हजार ३ सय ९५ जना निको भएका छन् । बेलायतमा अझैपनि १२ लाख ४५ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ८ सय ९६ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ ।