
काठमाडौं । काँग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । खड्काले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै २ हजार १ सय २१ मत पाउनुभयो । गुरुङ १ हजार ९ सय ८ मत पाएर विजयी हुनुभएको छ । विजयकुमार गच्छदारले भने १ हजार ९ सय ६ मत प्राप्त गर्दै दुई मतले पराजय ब्यहोनुर्् भयो ।
यस्तै अर्का प्रत्यासी चन्द्र भण्डारीले १ हजार ५ सय ८०, सुजाता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत प्राप्त गर्नुभएको छ । खड्का निवर्तमान महामन्त्री हुनुहुन्छ भने गुरुङ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । खड्काले देउवा प्यानलबाट जित्नुभएको हो भने, कोईराला प्यानलका गुरुङ नेविसंघबाट राजनीतिमा उदायका नेता हुनुहुन्छ ।
गत सोमबार भएको मतदानमा उपसभापति पदका लागि ४ हजार ६ सय ८९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भईसक्नुभएको छ । यसैबीच महामन्त्री पदको मतगणना अहिले केहीबेरमै सुरु हुँदैछ ।
बिहान ९ बजेदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल र डा राजाराम कार्कीका लागि चार हजार ६७९ जनाले मतदान गरेका समितिले जनाएको छ । पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।