
काठमाडाैं । नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा पुनः निर्वाचित हुनुभएको छ । राति आएको मतपरिणाम अनुसार देउवाले २७ सय ३३ मत ल्याउनुभयो । यस्तै उहाँका प्रतिस्पर्धी डाक्टर शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गर्नुभएको काँग्रेसको केन्द्रिय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३३ मत भने बदर भएको छ । पहिलो चरणमा सभापतिका उम्मेद्वार ५ जना मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा देउवा र कोइरालाबीच फेरि मतदानमा भएको हो । दोस्रो चरणको मतदानमा चार हजार ६ सय २३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
सभापतिको परिणाम आइसकेकाले अब अन्य पदाधिकारी र केन्द्रीय सदस्यको गणना सुरु हुने भएको छ । अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ । आजै दिउँसोदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समिति सदस्य केसीले बताउनु भयाे । सकेसम्म छिटो मतपरिणाम सार्वजनिक गर्ने गरि गणनाको काम सुरु हुने उहाँकाे भनाई छ ।