
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हिजो भएको मतदानमा ५ जना प्रतिस्पर्धामा रहेकाले कसैको पनि ५० प्रतिशत मत नकटेपछि आज फेरि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणमा हालका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीमा प्रतिस्पर्धा भइरहेको छ ।
दोस्रो चरणको मतदान आज साढे ३ बजे सुरु भएको छ । दोस्रो चरणको मतदानको लागि पनि प्रतिनिधिहरू उत्साहपुर्वक तरिकाले लाइनमा बसेका छन् । यस अघि सभापतिको उम्मेद्वार रहेका प्रकाशमान सिंह, बिमलेन्द्र निधि तथा कल्याण गुरुङ तीनै जनाले दोस्रो चरणमा सभापति शेरबहादुर देउवालाइ सघाउने बताएका छन् ।
पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ प्रकाशमानले ३७१ तथा निधिले २५० मत प्राप्त गरेका थिए । दोस्रो चरणमा चुनाब हुने भएपनि सभापतिका प्रत्यासी कोइरालाले पत्रकार सम्मेलन गर्दै अन्तरमनको भावना सुनेर मतदान गर्न आग्रह गर्नुभएको थियो । निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि साढे ३ देखि ७ बजेसम्मको समय निर्धारण गरेको छ । सभापति पदमा मात्र मतदान हुने भएकाले छिटो हुने निर्वाचन समितिको भनाइ छ । दोस्रो चरणको मतदानमा सभापतिका दुबै उम्मेद्वार मतदान स्थलमा पुगेर मतदातासँग मत मागेका छन् ।