काँग्रेस महाधिवेशनः उम्मेदवारी फिर्ता लिने समय बिहान ११ बजेसम्म

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली काँग्रेसको जारी महाधिवेशनमा हिजो परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।समितिले हिजो राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिसकेको थियो । जसअनुसार एक सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा मात्र ६ जनाको उम्मेदवारी परेको छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् ।क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

भोलि बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ । राष्ट्रियसभा गृह, नेपाल पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था मिलाइने छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । मतदानका लागि एक जनालाई ४५ मिनेट भन्दा बढी समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४ हजार ७ सय ४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसको विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था छ ।


प्रकाशित : २०७८ मंसिर २६ आईतवार