कांग्रेस महाधिवेशन : सभापतिको साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

[sharethis-inline-buttons]

काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको बैठक बस्ने भएको । बैठकका लागि नेताहरुपौडेलको निवास बोहराटारमा केहीबेरमा पुग्ने नेता बल बहादुर केसीले जानकारी दिनुभयो । हिजो अबेर रातिसम्म बसेको बैठकबाट कुनै निर्णय ननिस्केपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।

सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने उद्देश्यका साथ हिजो १४औं महाधिवेशनको उद्घाटनसत्र सकिएलगत्तै पौडेल पक्षका नेताहरुको बैठक बत्तीसपुतलीस्थित एउटा होटलमा बसेको थियो । तर, बैठक विनानिश्कर्ष टुङ्गिएको थियो । संस्थापन इतरपक्षका नेताहरु सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन । तर नेता शेखर कोईरालाले आजको छलफलले साझा उमेद्वार तय गर्ने बताउनुभयो । संस्थापन पक्षले पनि हालसम्म सबै पदाधिकारीका लागि उमेद्वार टुङ्गो लगाउन सकेको छैन ।

हिजो साँझ कृष्ण प्रसाद सिटौला पक्षसँग सहमति भएको भनिए पनि औपचारिक घोषणा हुन बाँकी छ । नेताहरुले बताए अनुसार सिटौला पक्षलाई एक महामन्त्री र एक सहमहामन्त्री दिन सभापति शेरबहादुर देउवा तयार देखिनु भएको छ । आगामी नेतृत्वका लागि संस्थापन पक्षबाट देउवा सर्बसम्मत सभापतिको उमेद्वार देखिए पनि अन्य पदमा आंकाक्षी धेरै भएकाले उमेद्वार छान्न सकस छ । संस्थापन पक्षका नेताहरु पनि मनोनयन दर्ता अघि छलफलमा जुट्ने तयारीमा छन् ।


प्रकाशित : २०७८ मंसिर २५ शनिबार