कांग्रेस महाधिवेशन : ६ प्रदेशमा अधिवेशन सम्पन्‍न, कहाँ कसले जिते ?

[sharethis-inline-buttons]

काठमाडौं । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ६ वटा प्रदेशको नेतृत्व छानिएको छ । प्रदेश १ मा संस्थापन पक्षका उम्मेदवार उद्धव थापा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित थापाले ८ सय ४४ मत प्राप्त गरेका छन् भने सभापति पदका अर्का उम्मेदवार गुरूराज घिमिरे पराजित भएका छन् ।

घिमिरे २ मत अन्तरले पराजित भएका हुन । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन ।

लुम्बिनी प्रदेशमा भने अमरसिंह पुन सभापतिमा विजयी भएका छन् । संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै उनी विजयी भएका हुन। एक उपसभापति बाहेक संस्थापनइतर समूहका अमरसिंह पुन समूहको प्यानल नै विजयी भएको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापतीमा संस्थापन पक्षका वीरबहादुर बलायर विजयी भएका छन् । उनले संस्थापनइतर पक्षका नारायणदत्त मिश्रलाई पराजित गरेका हुन। गण्डकी प्रदेश सभापतिमा भने संस्थापनइतर पक्षका शुक्रराज शर्मा निर्वाचित भएका छन्। कर्णाली प्रदेशमा संस्थापन पक्षका ललितजङ्ग शाही बिजयी भएका छन् । महाधिवेशन भएका ६ प्रदेशमध्ये ४ प्रदेशमा संस्थापन पक्षका नेता सभापतिमा विजयी भएका छन् । प्रदेश २ को अधिवेशन भने हुन बाँकी छ ।


प्रकाशित : २०७८ मंसिर २० सोमबार