
काठमाडौं । सोमबार देशभरको मौसममा सामान्य देखि आंशिक बदलीको सम्भावना रहको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।
बिहान देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । भने सोमबार दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ ।
सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।साथै ति प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै सोमबार राती देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही वाँकि भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भु–भागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।