
काठमाडौं । रामेछापको एक विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेल निरीक्षणमा जाँदा शिक्षक नै भेटिएका छैनन् । आइतबार शिक्षा मन्त्री पौडेल रामेछापको तिल्पुङ्गमा रहेको श्री नव दर्शन उच्च माध्यमिक विद्यालयको निरीक्षणमा गएका थिए ।
उनी विद्यालयमा पुग्दा केही शिक्षकहरू नै थिएनन् । विद्यार्थीहरु चौरमा खेली रहेको देखिन्थे । विद्यालयका प्रधानाध्यापकले शिक्षकहरु विदामा बसेको बताए छन् । तर विद्यार्थीहरुले भने शिक्षकहरु राजनीतिक पार्टीको बैठकमा गएकाले पढाई प्रभावित भएको गुनासो गरे ।
मन्त्री पौडेलले विद्यार्थीहरुसँग केही समय बिताएका थिए । त्यस क्रममा विद्यार्थीहरुले मन्त्रीसामु शिक्षकहरु नियमित विद्यालय नआउँदा पढाई निरन्तर प्रभावित भएको बताएका थिए । उनीहरुले पढाई नियमित हुनु पर्ने माग समेत गरेका छन् । शिक्षकले आफुहरुको भविष्यमाथि लाहपरवाही गरेको विद्यार्थीको गुनासो छ ।
शिक्षा मन्त्री पौडेलले विद्यालयका प्रधानाध्यापकलाई शिक्षकहरुको व्यवस्थापन सहि ढङ्गले गर्न र विद्यार्थीको पढाइ प्रभावित हुने गरी कुनै पनि काम नगर्न निर्देशन दिएका थिए । शिक्षकहरुले पठनपाठनमा लाहपरवाहि गरे शिक्षा क्षेत्रलाई सुधार गर्न नसकिने मन्त्री पौडेलको भनाई छ ।