कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने

[sharethis-inline-buttons]

१९ मंसिर,काठमाण्डौ ।नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तर्गत अहिले मतगणना भइरहेको छ । हिजो मतदान भएका ६ प्रदेशमा सभापति लगायतको उम्मेदवारको मतगणना भइरहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अहिलेसम्मको स्थितिमा कर्णाली र गण्डकी प्रदेश सभापतिको मतगणना सकिएको छ । गण्डकी प्रदेशको सभापतीमा संस्थापनइतर पक्षका शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । उहाँ ६ सय १२ मत ल्याएर सभापतिमाविजयी हुनुभएको हो । सभापति पदका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याउनुभएको छ ।

कर्णाली प्रदेशको सभापतिमा भने ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । उहाँले ४ सय २२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी भुपेन्द्रजङ्ग शाहीले ३ सय १७ र मोतीराज बमले ६ मत प्राप्त गरेको कर्णाली प्रदेश निर्वाचन समितिले जनाएको छ । विजयी शाही संस्थापन पक्षका हुनुहुन्छ ।

बागमती प्रदेशमा भने सभापति पदका लागि फेरि मतदान हुने भएको छ। हिजो भएकोे मतदानमा कुनै पनि उम्मेदवारको ५० प्रतिशत भन्दा बढी मत नआएपछि फेरि मतदान हुने भएको हो । दोस्रो चरणको मतदान आज बिहान ११ बजेबाट सुरू हुने निर्वाचन समितिले जनाएको छ। अन्य प्रदेशमा भने मतगणना जारी रहेको छ ।

प्रदेशका २ मा अझै निर्वाचन प्रक्रिया सुरू हुन सकेको छैन । प्रदेश २ कोे ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा हिजो पनि अधिवेशन स्थगित गरिएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ । अब समितिले प्रदेश २ को लागि नयाँ मिति तोक्ने निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ मंसिर १९ आईतवार