काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा रहेको जवाद नामक चक्रवात कमजोर भई निम्न चापिय प्रणालीको रुपमा रहेको छ । जसका कारण नेपालको पूर्वी भू–भागमा यसको आंशिक प्रभाव रहने छ । हाल देशको प्रदेश नं. १ तथा अन्य प्रदेशहरूका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख गरिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको ती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ । महाशाखाका अनुसार देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह गरेको छ ।