राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान सुरु

[sharethis-inline-buttons]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चुन्न आज मतदान भएको हो ।

भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरु भएको हो । मतदान साँझ पाँच बजेसम्म सक्ने कार्यतालिका छ । ढिलो मतदान सुरु भए पनि निर्धारित समयमै सक्ने लक्ष्य रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि हिजो २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

१ अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री गरी ८ पदाधिकारीका लागि उम्मेदवारी भएको हो । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था राप्रपा विधानमा गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।

मतदाता नामावलीमा देखिएको विवाद र नेतृत्वमा सहमति खोज्न थाल्दा महाधिवेशन लम्बिएको हो । थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् भने महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीको प्रतिस्पर्धा रहने भएको छ ।

यस्तै लिङ्देन प्यानलको उपाध्यक्षमा पनि विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बनेका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार रहेका छन् । उपाध्यक्षमा पाण्डे भने सर्वसम्मत हुनुभएको छ ।


प्रकाशित : २०७८ मंसिर १८ शनिबार