
काठमाडौं । शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा उडान र अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ ।
भिजिबिलिटी कम भएकाले फ्लाइ दुबईको जहाज लखनउ डाइभर्ट गरिएको बताइएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको हो ।
बंगालको खाडीमा आएको चक्रवातको अप्रत्यक्ष प्रभाव अहिले नेपालमा परेको छ । साथै पश्चिमी वायुको प्रभाव पनि नेपालमा छ । यसको असरका कारण देशभर बदली हुनुका साथै केही स्थानमा वर्षा र उच्च हिमाली भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।