राप्रपा महाधिवेशनः नयाँ नेतृत्त्व चयन आज, बिहान ८ देखि साँझ ५ बजेसम्म मतदान हुने

[sharethis-inline-buttons]

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्त्व चयनका लागि आज मतदान हुँदैछ । मङ्सिर १५ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्त्व चयनका लागि निर्वाचन हुन लागेको हो । नेतृत्त्व चयनका लागि आज बिहान ८ बजेदेखि ५ बजेसम्मको समय तोकिएको राप्रपा निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि हिजो २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

१ अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री गरी ८ पदाधिकारीका लागि उम्मेदवारी भएको हो । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था राप्रपा विधानमा गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।

मतदाता नामावलीमा देखिएको विवाद र नेतृत्वमा सहमति खोज्न थाल्दा महाधिवेशन लम्बिएको हो । थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् भने महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीको प्रतिस्पर्धा रहने भएको छ ।

यस्तै लिङ्देन प्यानलको उपाध्यक्षमा पनि विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बनेका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार रहेका छन् । उपाध्यक्षमा पाण्डे भने सर्वसम्मत हुनुभएको छ ।


प्रकाशित : २०७८ मंसिर १८ शनिबार