
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । हिजो प्रदेश कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरूको मनोनयन सकिएपछि आज मतदान हुने भएको हो । प्रदेशको चुनाव आ–आफ्नो पक्षमा पार्न गुटगत गठबन्धन बनेका छन् ।
प्रदेश १ मा पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको एउटै प्यानल बनेको छ । सभापतिका लागि गुरु घिमिरे र उद्धब थापाबीच प्रतिस्पर्धा हुने भएको छ । घिमिरे संस्थापन इतर पक्षबाट सभापतिका उम्मेदवार बन्नुभएको छ भने थापालाई संस्थापन पक्षसँगै नेता कृष्ण सिटौलाको पनि साथ छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतरपक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । सभापतिमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर र इतरपक्षबाट कैलालीका पूर्व जिविस सभापति नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ ।
गण्डकी प्रदेश कार्यसमितिका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानलसहित उम्मेदवार बनाएका छन् । सभापतिका लागि अर्जुन जोशी र शुक्रराज शर्माको उम्मेदवारी परेको छ ।
यस्तै बागमती प्रदेशमा सभापतिका लागि संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी दिनुभएको छ भने नेता कृष्णप्रसाद सिटौला पक्षबाट भिमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराउनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदिश्वर नरसिंह केसीले उम्मेदवारको मनोनयन दर्ता गराउनुभएको छ । लुम्बिनीमा देउवा पक्षका भरत शाहले गैर संस्थापनका अमरसिंह पुनसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।