
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम बदली रहने बताएको छ । बङ्गालको खाडीको मध्य पश्चिम भू–भागमा हिजो जवाद नामक सामुन्द्रिक चक्रवात बनेपनि त्यसको प्रभाव नेपालमा पनि परेको महाशाखाले जनाएको छ ।
चक्रवात आज बिहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पूर्व तर्फ सर्ने देखिएको र चक्रवातका कारण नेपालमा ठूलो प्रभाव नपरेपनि देशका केही भू–भागमा मौसम बदली रहने महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिनका अनुसार जवाद नामक चक्रवातको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं. १ , प्रदेश नं. २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै ती प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमवारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जानेछ । भोलिबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ । मौसमी प्रणालीहरूका कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।