इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा दर्ता

[sharethis-inline-buttons]

काठमाडौँ –  इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा अदालतमा दर्ता भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

यो मुद्दा अहिलेसम्मकै ठूलो रकमको र धेरै पीडित भएको मुद्दा रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।  मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगोदाबी गरिएको छ। उनीहरुविरुद्ध मुलुकी ऐन, मुलुकी संहिता, संगठित अपराध र कसुरजन्य सम्पत्ति रोक्का ऐनअन्तर्गत सजाय माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

तामाङलाई सीआईबीले गत असोज १८ मा प्रक्राउ गरेको थियो । उनीसहित १२ जना प्रक्राउ परेका छन् । प्रक्राउपछि सीआईबीले तामाङविरुद्ध सुरुमा ठगी मुद्दामा अनुसन्धान गरेको थियो । पछि संगठित अपराधमासमेत थप अनुसन्धान गरेको हो ।

सिभिल सहकारीका बचतकर्ताहरूले आफूले जम्मा गरेको रकम र त्यसको ब्याज माग गर्दा नपाएपछि प्रहरीसमक्ष उजुरी दिएका थिए । सीआईबीसमक्ष हालसम्म २०१ वटा उजुरी परेका छन् । जसका आधारमा हालसम्म सिभिल सहकारीबाट ठगिनेको संख्या एक हजार पाँच सय २० जना देखिएका छन् ।


प्रकाशित : २०७८ मंसिर १७ शुक्रबार