
काठमाडौं । नन्कुन्नी धोबी र निर्मला कुर्मीको लागि न्याय माग्दै बाँकेका महिलाहरू फेरी काठमाडौँमा आएकाछन् । सरकारले छानविन समिति गठन गरेपनि आरोपितलाई बचाउने खेल भइरहेको भन्दै उनीहरू फेरी आन्दोलीत भएका हुन् । सरकारले उनिहरूको न्यायका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
आरोपीतलाई बचाउने खेल भएको भन्दै फेरी आन्दोलन गर्नु परेको आन्दोलनको नेतृत्व गरिरहनुभएका रुबि खानले बताउनुभयो । सरकारी छानबिन समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको ८ दिनपछि गत कात्तिक २२ गते प्रहरीले निर्मला कुर्मीको जग्गा हडप्ने काममा सङ्लग्न भएको भन्दै ६ जनालाई पक्राउ गरेको थियो । तर २१ दिन हिरासतमा राखेर सबै जना हाजिरी जमानीमा थुनामुक्त भएका छन् ।
गम्भीर प्रकृतिको मुद्दाका आरोपित छुटेपछि न्याय नपाउने चिन्ता लागेको खानको भनाइ छ । गत असोजमा नेपालगन्जदेखि २० दिनको पैदल यात्रा पछि काठमाडौँ आईपुगेका उनिहरूको २३ दिनको आन्दोलनपछि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
बाँकेको जानकी गाउँपालिका–२ नेवाजी गाउँका ३८ वर्षीय नन्कुन्नी धोबी गत साउन ६ गते मृत अवस्थामा फेला पर्नुभएको थियो । यस्तै,नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी महिला निर्मला कुर्मी बेपत्ता हुनुभएको छ ।यी दुबै घटनाको सत्यतथ्य अनुसन्धान गरि दोषीमाथि कारबाही गर्नुपर्ने आन्दोलनरत महिलाहरूको माग छ ।