
काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा लागू भएको छ । सवोच्चमा आज गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल ११ वटा इजलास गठन भएका छन् ।
गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ ।यस्तै न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमा, न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि गठन भएको छ ।
तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ ।अर्का न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ ।त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ ।प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ ।अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।
योसँगै अब सर्वोच्चको इजलासका लागि न्यायाधीशहरुले वरिष्ठताका आधारमा गोला तान्ने र मुद्दाका लागि पुनः अर्को गोला तानेर निर्धारण गरेपछि मात्रै सुनुवाइ सुरु हुनेछ । गोला प्रक्रियालाई पारदर्शी बनाउन सर्वोच्च अदालतको सीसीटिभी क्यामरामा समेत सुरक्षित राखिने बताइएको छ ।
दैनीक पेसी सूची बिहान साढे १० बजेभित्र सर्वोच्चको वेबसाइटमा प्रकाशित हुनेछ ।गत कात्तिक ७ गतेबाट प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरु पनि गोलाप्रथा लागू हुने भएपछि इजलास फर्किन तयार भइसकेका छन् । तर उनीहरुले नियमित मुद्दामा सुनुवाइ भने गरेका छैनन् ।गोलाप्रथा सुरु भएसँगै सबै न्यायाधीशले सबै मुद्दाको सुनुवाइ थाल्ने निर्णय भएको छ । गोलाप्रथाले पेसी व्यवस्थापनलाई पारदर्शी र विश्वासनीय बनाउने जानकारहरुले बताएका छन् ।